नवजात शिशुको जन्डिस
नवजात शिशुको जन्डिस भनेको बच्चाहरूमा देखिने सामान्य अवस्था हो, जसले छाला र आँखाको सेतो भागहरू पहेंलो गराउँछ। यो रगतमा बिलिरुबिन भनिने प्राकृतिक पदार्थमा वृद्धि हुनाले हुन्छ।
बच्चाहरूलाई किन जन्डिस हुन्छ?
जन्मपछि, बच्चाहरूलाई भ्रूण अवस्थामा जस्तो धेरै रातो रक्तकोषहरूको आवश्यकता पर्दैन। यी रातो रक्तकोषहरू टुक्रिन्छन् र रगतमा बिलिरुबिन मिसिन्छ। नवजात शिशुहरूको कलेजो अतिरिक्त बिलिरुबिनलाई सम्हाल्नको लागि पर्याप्त परिपक्क हुँदैन, त्यसकारण उनीहरूको रगतमा बिलिरुबिन मिसिन जान्छ।
जन्डिस कहिले देखापर्छ र निको हुन्छ?
जन्डिस प्राय: जन्मेको दोस्रो वा तेस्रो दिनमा देखापर्छ र कलेजोले थप प्रभावकारी तरिकाले बिलिरुबिन पक्रिया गरेको समयमा निको हुनको लागि लगभग दुई देखि तीन हप्तालाग्छ।
जन्डिसले मेरो बच्चालाई असर गर्न सक्छ?
अधिकतम स्वस्थ बच्चाहरूमा नवजात शिशुको जन्डिस एक गम्भीर समस्या होइन। तथापि, बिलिरुबिनको अति उच्च स्तरहरू खतरनाक हुन सक्छन् र केही बच्चाहरूमा मस्तिष्कको खराबी हुन सक्छ।
केही बच्चाहरूमा बिलिरुबिनको उच्च स्तरहरू हुने अधिक जोखिम हुन्छ:
- समय पूरा हुनुभन्दा अगाडि जन्मिएका
- राम्रोसँग स्तनपान नगरेका
- ग्लुकोज 6 फोस्फेट डिहाइड्रोजेनसको कमी भएका
- आमाको भन्दा फरक रक्त समूह भएका
- सङ्क्रमण भएका
मेरो बच्चालाई जन्डिस छ भने म के गर्न सक्छु?
- डिहाइड्रेसन हुनबाट रोक्नको लागि तपाईंको बच्चाले पर्याप्त मात्रामा दूध पिउनुभएको छ भनी सुनिश्चित गर्नुहोस्। तपाईं आफ्नो बच्चाले एक दिनमा गर्ने दिसा र पिसाबको मात्राले बताउन सक्नुहुन्छ।
(विवरणहरूका लागि, कृपया “बोतलबाट खुवाउने सम्बन्धी निर्देशिका: मेरो बच्चाले पर्याप्त खाना प्राप्त गरिरहनुभएको छ”को सन्दर्भ लिनुहोस्।)
- जन्मको पहिलो केही दिनमा बिलिरुबिनको मात्रा बढ्नसक्ने भएकाले, अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै बच्चालाई मातृ तथा शिशु स्वास्थ्य केन्द्र वा आफ्नो पारिवारिक चिकित्सक/बालरोग विशेषज्ञकहाँ मूल्याङ्कनको लागि लैजानुहोस्।
- चिकित्सकले बच्चाको अवस्थाको निगरानी गर्नुहुनेछ। आवश्यक भएमा, बच्चाहरूलाई उपचारको लागि अस्पतालमा सिफारिस गरिनेछ।
जन्डिसलाई कुनै उपचारको आवश्यकता हुन्छ?
- जन्डिस भएका अधिकांश बच्चाहरूलाई उपचारको आवश्यकता पर्दैन। बच्चाहरूको कलेजो परिपक्व भएपछि जन्डिस आफै हराउनेछ।
- बिलिरुबिनको स्तर अत्यन्तै उच्च छ वा अत्यन्तै छिटो बढ्छ भने, तपाईंको बच्चालाई अस्पतालमा फोटोथेरापीको आवश्यकता पर्नेछ।
घाम ताप्नाले जन्डिस कम हुन सक्छ?
नवजात शिशुको जन्डिसको उपचार गर्नको लागि घाम ताप्ने उपयुक्त विधि होइन। जन्डिसको उपचार चिकित्सकीय निगरानीमा हुनुपर्छ।
मेरो बच्चालाई जन्डिस छ भने, मैले आफ्नो बच्चालाई स्तनपान गराउन जारी राख्न सक्छु?
- तपाईं आफ्नो बच्चालाई स्तनपान गराउन जारी राख्न सक्नुहुन्छ। स्तनपान गराइएको वा फर्मुला खुवाइएको भएपनि सबै नवजात शिशुहरूलाई जन्डिस हुन सक्छ।
- तपाईंको बच्चाले पर्याप्त स्तनपान गरिरहेको भएमा, पर्याप्त मात्रामा पिसाब र दिसाको साथसाथै सामान्य तौल वृद्धिद्वारा प्रतिबिम्बित भएअनुसार, स्तनपान रोक्न वा फर्मुला दूध थप्न आवश्यक हुँदैन।
(विवरणहरूका लागि, कृपया “स्तनपान: तपाईंको बच्चाले पर्याप्त मात्रमा दुध पाइरहनुभएको छ वा छैन भन्ने कुरा तपाईं कसरी थाहा पाउनुहुन्छ?”को सन्दर्भ लिनुहोस्।)
- केही स्तनपान गर्ने बच्चाहरूमा जन्डिस केही समय बढीसम्म हुन सक्छ र प्राय: दुईदेखि तीन महिनासम्ममा निको हुन्छ। यसलाई “आमाको दूधको जन्डिस” भनिन्छ जुन मध्यम हुन्छ र बच्चाको स्वास्थ्यमा कुनै हानी गर्दैन। फर्मुला दूधमा परिवर्तन गर्न आवश्यक छैन।
मेरो बच्चाको जन्डिस निको हुँदैन, म के गर्न सक्छु?
- जन्डिस दुईदेखि तीन हप्ता बढीसम्म रहिरहन्छ वा बच्चाको दिसा पहेँलो हुन्छ भने, शिशुलाई प्रारम्भिक चिकित्सकीय परामर्शको लागि ल्याउनुहोस् वा चेक-अपको लागि मातृ तथा शिशु स्वास्थ्य केन्द्रमा आउनुहोस्।
- कलेजो वा पित्तको समस्याहरूको शंकालाई हटाउन थप परीक्षणहरूको लागि बच्चालाई बालरोग विशेषज्ञहरूको मा सिफारिस गर्न आवश्यक पर्न सक्छ।
ग्लूकोज 6 फोस्फेट डिहाइड्रोजेनस (G6PD) को कमी भनेको के हो? मेरो बच्चालाई ग्लूकोज 6 फोस्फेट डिहाइड्रोजेनस (G6PD) को कमी भएको छ भनी मैले कसरी थाहा पाउने?
- ग्लूकोज 6 फोस्फेट डिहाइड्रोजेनस (G6PD) को कमी एक वंशाणुगत अवस्था हो।
- ग्लूकोज 6 फोस्फेट डिहाइड्रोजेनस (G6PD) को कमी भएका शिशुहरू फवा सिमी, निश्चित औषधी वा चिनियाँ जडीबुटी, नेप्थालिनयुक्त उत्पादनहरू आदिको प्रभावमा आउँछन् भने, धेरै मात्रामा रातो रक्तकोषहरू टुक्रिन्छन् र परिणाम स्वरूप गम्भीर जन्डिस हुन्छ।
- हङकङको सार्वजनिक अस्पतालहरूमा जन्मिने बच्चाहरूमा ग्लूकोज 6 फोस्फेट डिहाइड्रोजेनस (G6PD) को कमीको लागि गर्भनाल (नाइटो) रक्त परीक्षणहरू गरिन्छ। बच्चालाई ग्लूकोज 6 फोस्फेट डिहाइड्रोजेनस (G6PD) को कमी भएको पत्ता लागेमा, आमाबुवाहरूलाई प्राय: अस्पतालबाट डिस्चार्ज हुनुभन्दा अगाडि नै सूचित गराइन्छ।